२७ कात्तिक, काठमाण्डौँ । भाद्र २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाएको छ। आयोगले छानबिनका लागि खापुङलाई आवश्यक परेमा कुनै पनि समयमा उपस्थित हुन निर्देशन दिँदै निर्णय तत्काल प्रभावबाट लागू हुने जनाएको छ।
आयोगको आज कार्तिक २७ गते बिहीबार बसेको बैठकले खापुङलाई घटनासम्बन्धी छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।
साथै, आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि गरिएको छ।
आयोगले पूर्व महानिरीक्षक खापुङलाई उक्त निर्णयको जानकारी गराउने जनाएको छ। त्यसैगरी, आयोगले घटनामा कसैको क्षति सम्बन्धी विवरण अझै नपठाएका व्यक्ति वा संस्थालाई विवरण आयोगको इमेल ठेगाना / सिंहदरबारस्थित आयोगको कार्यालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले आयोगका प्रेस विज्ञप्ति र सूचनाहरू गृह मन्त्रालयको वेबसाइटमार्फत पनि हेर्न सकिने जानकारी दिएका छन्।






