समाचार

जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

२७ कात्तिक, सुनसरी । सङ्खुवासभाको पहाडी गाउँमा २०४१ सालमा जन्मेका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राई देश र समाजमा न्याय, पारदर्शिता र उत्तरदायी नेतृत्वको खोजीमा निस्किएका आम नागरिकमध्ये एक थिए ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’को दोस्रो दिन उनी भक्तपुरको ठिमीस्थित सानो मैदानमा प्रहरीको गोली लागेर ढले । देश परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिएका साजनले त्यसैदिन ज्यान गुमाए। अहिले उनका दुई नाबालक छोराले बाबु र आमा दुवै गुमाएर संसारमै एक्लिन पुगेका छन् । साजन केही वर्षदेखि भक्तपुर ठिमीमा ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका एक मजदूर छन्, करिब दुई वर्षअघि श्रीमतीको निधन भएपछि उनी आफ्ना दुई छोरासहित भाडाको सानो कोठामा बस्दै मजदूरी गरेर जीवन चलाउँदै आएका थिए । “काकाको आर्थिक अवस्था कमजोर थियो”, उनका भतिज भरत राई सम्झिन्छन् तर उनी सधैँ देशमा भएको भ्रष्टाचार र अन्यायप्रति आक्रोशित हुन्थ्ये । उनले भन्थे, “यी भ्रष्ट्रले देश बिगारे, मेरो जीवन त यतिकै बित्नेभयो, तर छोराहरूको भविष्य के होला रु” त्यो आक्रोशले नै साजनलाई जेनजी आन्दोलनतर्फ तानेको थियो । पहिलो दिन उनी आन्दोलनमा जानु भएन तर पहिलो दिन प्रहरीको गोली र दमनको दृश्य देखेपछि काका निकै रिसाएर आवेशमा आएका थिए, भरतले भने, “भोलि म पनि जान्छु भनेर निर्णय गर्नुभयो ।” काका साजनले भनेका थिए, “हामी सर्वसाधारणका छोराछोरीमाथि गोली हान्ने रु” उहाँलाई ‘जेनजी’ के हो भन्ने पनि राम्ररी थाहा थिएन, तर ‘भ्रष्टाचारविरुद्धको आन्दोलन’ भनेर सुनेपछि उनी पनि सहभागी थिए। भदौ २४ गते बिहान साजन र भरत दुवै आन्दोलनमा सहभागी भएका थिए । उनीहरू पेप्सीकोलाबाट बानेश्वरसम्मको शान्तिपूर्ण जुलुसमा जोडिए, हामी एक डेढ सय जना थियौँ । कोही चिनेजानेका, कोही अपरिचित । सबैको उद्देश्य एउटै शान्तिपूर्ण रूपमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने । भरतले भने, “तर, दिन ढल्दै जाँदा प्रदर्शन नियन्त्रणभन्दा बाहिर गयो । प्रहरीले अश्रुग्यास र गोली चलायो, केही समूहले ढुङ्गा हाने र तोडफोड सुरु भयो । हामीले बारम्बार भन्यौँ, ‘ढुङ्गा नहानौँ, तोडफोड नगरौँ’ तर केही अराजक समूहले आन्दोलनलाई गलत दिशातिर धकेल्यो ।”

साजनको ठिमीको मैदानमा अन्तिम सास
त्यसै भिडभाडबीच साँझ करिब ५ः३० बजे ठिमीको सानो फिल्डमा प्रहरीले गोली चलायो । गोली सिधै साजनको छातीमा लाग्यो । हामीले थाहा पाउँदा काका ढलिसकेका थिए, भरतले भने, “साथीहरूले तुरुन्तै उनलाई केएमसी अस्पताल लगेका रहेछन्, तर हामी त्यहाँ पुग्दा डाक्टरले मृत घोषणा गरे ।”

त्यस क्षण साजनका दुई साना छोराले सायद बुझ्न पनि सकेनन् कि उनीहरुका बाबा अब कहिल्यै फर्किने छैनन् । छोराहरु १२ वर्षका एक्जन र छ वर्षका जिमी राई अहिले टुहुरो बनेका छन् । काकी दुई वर्षअघि बित्नुभयो, अहिले काका पनि रहेनन्, उनका भतिज भरत भन्छन् “अब ती दुई बच्चाको भविष्य कसरी सुरक्षित हुने भन्ने चिन्ता हामी सबैलाई छ ।”

साजन मेवाहाङ पहिले ड्राइभरका रूपमा काम गर्नुहुन्थ्यो, उमेर बढ्दै जाँदा उनले ड्राइभर काम छाडेर घर बनाउने, पर्खाल लगाउने, सिमेन्ट घोट्ने काम गर्दै दुई छोराको हेरचाह गर्थे, कठिन जीवनबीच पनि देश र समाजप्रतिको माया कहिल्यै घटेन, उहाँ सधैँ भन्ने गर्थे, हाम्रो पुस्ताको जिन्दगी त अब यसै सकियो तर अबका बालबालिकाले पनि अन्याय सहनु नपरोस् । भरतले सम्झन्छन्, उनको यही सोच र असन्तोषले उनलाई आन्दोलनको बाटोमा पु¥यायो, जहाँ उहाँले अन्तत ज्यान नै गुमाए । 

साजनको मृत्युले परिवार मात्र होइन, समुदाय नै स्तब्ध बनाएको छ । धरानका आफन्त अझै विश्वास गर्न सकिरहेका छैनन् कि सधैँ आशावादी र देशप्रेमी साजन अब छैनन् । भतिज भरत भन्छन्, “उनी कहिल्यै आक्रामक थिएनन् सिधा सरल मान्छे । तर, अन्याय र असमानता देख्दा आवाज उठाउथे, यही आवाजले अन्ततः उनलाई सधैंँका लागि चुप पारिदियो ।”

जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा ल्याई अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५, आपँटार चौरमा टिन र काठले बनाइएको सानो घर छ । त्यही घरमा उनका दुई नाबालक छोरा दाइ, नइन्द्रकुमार राई र भाउजू उत्तरकुमारी राईसँग बसिरहेका छन् । दाइ, भाउजू दुवै दैनिक ज्याला मजदूरी गर्दै आफ्नो परिवारको गुजारा चलाउँदै आउनु भएको छ अब थप साजनका दुई छोराको पालनपोषणको जिम्मेवारी पनि उनीहरूको काँधमा आएको छ ।

साजनको असामयिक निधनले परिवार मात्र होइन, उनका बालकको भविष्यमा पनि गहिरो चुनौती थपेको छ । दाइ नइन्द्रकुमार भन्छन्, “हाम्रो आफ्नै छोराछोरी हेर्न गाह्रो छ, अब भाइका दुई छोराको भविष्य कसरी बनाउने भन्ने पिर मनमा छ । हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । परिवारको लालनपोषण आफैँ गाह्रो छ, अब थप दुई बालकको जिम्मेवारी पनि हामीमाथि आएको छ । हामीले पनि बाबाआमाको माया पाउन सकेनौं । त्यसैले जीवनभर सङ्घर्षमै बिताएका हौँ । अब यी बच्चाको भविष्य सुनिश्चित गर्नु हाम्रो लागि सजिला भने छैन ।”

साजनका दुई छोरामध्ये अहिले एक्जन राई जेठा छोरा कक्षा ७ र जिमी राई कान्छा छोरा कक्षा १ मा पढिरहनु भएको दाइ नइन्द्रले बताए। छोराका बारेमा नसोची साजनले राष्ट्रका लागि आफ्नो प्राण नै आहूति दिए, मुलुकको आमूल परिवर्तनको क्रममा उनले वीरगति भने,

साजनको भाउजू उत्तरकुमारी भन्छन्, “कम्तीमा नानीहरूको भविष्य सरकारले सुनिश्चित गर्नुपर्छ । हाम्रो आर्थिक अवस्था कमजोर छ । त्यसैले पढाइ, स्वास्थ्य र आधारभूत आवश्यकता सरकारले सुनिश्चित गर्नुपर्छ । नानीहरूलाई हेरेर रुन आउँछ, तर अब न्याय र सहारा कोसँग कहाँबाट पाउने रु दुई छोरा हुर्काएर केही दिन शान्ति पाउने हो कि भनेर साजन भाइ मजदूरीमा लागेका थिए, तर उसलाई भाग्यले साथ दिएन ।”

साजनको मृत्युसँगै उनका बालकहरूको भविष्य अझै अनिश्चित छ । दाइ, भाउजू परिवारको सीमित साधन र दैनिक सङ्घर्षबीच बालकको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता सुनिश्चित गरिरहेका छन्। साजनको बलिदानले राष्ट्र र समाजका लागि अर्थ राखे पनि व्यक्तिगत र पारिवारिक क्षति गहिरो रहेको छ । जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएको साजन मेवाहाङको शवलाई धरानमा ल्याएर सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय संस्कारअनुसार उनको अन्त्येष्टी गरिएको हो ।

साजनको शव एक हप्तापछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगर ल्याइयो र त्यहाँबाट बाहनमार्फत धरान पु¥याइयो । सम्मानका लागि इटहरीबाट नेपाली सेनाको टोलीसमेत धरानमा पुगेको थियो । भानुचोकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ९साम्पाङ०ले राष्ट्रिय झण्डा ओढाएर साजन मेवाहाङलाई सम्मान गरे । श्रद्धाञ्जलि कार्यक्रम सकेर स्वर्गीय साजनको शवलाई जङ्गलमा लगेर पारम्परिक मुन्दुमअनुसार खाल्डो खनेर गाडिएको थियो ।

साजनको जीवन र मृत्युले स्पष्ट सन्देश दिएको छ सामाजिक परिवर्तन र भ्रष्टाचारविरुद्धको आवाज उठाउनु साधारण नागरिकको लागि चुनौतीपूर्ण र कहिलेकाहीँ जोखिमपूर्ण कार्य हो । साधारण जीवनयापन गर्ने मजदूर भए पनि उनी देशको भविष्यप्रति सचेत र सक्रिय नागरिक थिए, सामान्य परिवारमा जन्मिनु भएका उनी जीवनभर सङ्घर्षमै बिताउनु भएका राईले आफ्ना बालकको भविष्य सुनिश्चित गर्न सक्ने अवस्था थिएन, तर राष्ट्र र समाजको सुधारका लागि सडकमा निस्किएका थिए । यही बलिदानले नागरिक चेतना र युवाहरूको सक्रियता उजागरसमेत गरेको छ ।

साजनका छोरा बाबाको सपना, देशप्रतिको प्रतिबद्धता र बलिदान छोराका लागि प्रेरणा बन्न सक्छ । आर्थिक र सामाजिक सहयोगको अभावमा बालकको भविष्य अन्योलमा छ । दाइ, भाउजूको सीमित स्रोतले मात्र यो जिम्मेवारी पूरा गर्न कठिनाइ छ । यही परिस्थितिले राज्य र समाजप्रतिको जिम्मेवारी आवश्यक छ । साजनको बलिदानले राष्ट्रको भविष्यमा परिवर्तनको आवश्यकता मात्र देखाएन, व्यक्तिगत र पारिवारिक मूल्य, सामाजिक उत्तरदायित्व र आम नागरिकको सङ्घर्षसमेत उजागर गरेको छ ।

साजनको कथा समाजलाई सम्झाउँछ कि परिवर्तनका लागि सडकमा निस्किने साहसका बाबजुद पनि व्यक्तिगत पीडा र परिवारको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ । उहाँका छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्नु अहिले सम्पूर्ण समाज र राज्यको दायित्व बनेको छ ।