१ मंसिर, काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समय अलपत्र रहेका २५ रुग्ण ठेक्का सोमबार रद्ध गरेको छ। यी ठेक्का आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएका थिए, तर ठेकेदारहरूले काम नगरी ठेक्का अलपत्र पारिएका थिए।
ठेक्का तोड्ने निर्णयअघि ११ कात्तिकमा सम्बन्धित निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो। पेश गरिएको जवाफ चित्तबुझ्दो नहुँदा सार्वजनिक खरिद ऐन अनुसार ठेक्का रद्ध गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिएका छन्।
ठेक्का सम्झौता रद्ध भएपछि कालोसूचीमा राखिने, कार्यसम्पादन जमानत, धरौती, पेश्की जमानत र १० प्रतिशत ब्याज असुल हुने व्यवस्था अघि बढाइने देवकोटाले बताए। व्यवसायीहरूलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएकामा यस कदमलाई आवश्यक ठहर गरिएको छ।





