३ मंसिर, काठमाडौं । पशुपति क्षेत्र आज बिहानैदेखि श्रद्धा र संस्कारको रौनकले भरिएको छ। बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनले पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका छन्।
अघिल्लो दिन पितृका नाममा अखण्ड महादीपदान गरी रातभर जाग्राम बस्ने भक्तजनहरू बिहानै उठेर सात प्रकारका अन्न धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिसाइएको शतबीज बोकेर पशुपतिका पवित्र स्थलतिर जान्छन्। एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थलीदेखि विश्वरूप र किराँतेश्वरसम्मका स्थानहरूमा भक्तजनको भीड बाक्लो रूपमा देखिन्छ।
मृगस्थलीस्थित बहिरा गणेश नजिक पुग्नेबित्तिकै भक्तजनहरू पितृ आत्माको सद्गति होस् भन्दै जोरसँग पुकार्छन्। परम्पराअनुसार बहिरा गणेशलाई मोठो आवाजमा बोलाइए मात्र दिवंगत आत्मासम्म सन्देश पुग्ने विश्वास रहिआएको छ, त्यसैले श्रद्धालुहरू गणेशको शिला हल्का हल्लाउँदै शतबीज छर्न व्यस्त देखिन्छन्।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वका कारण आज पशुपति क्षेत्र बिहानैदेखि खचाखच भरिन्छ। पशुपति मात्र होइन, भक्तजनले डोलेश्वर महादेव, ज्योतिर्लिङ्गेश्वर, गोकुलधाम र चितवनको देवघाटलगायतका स्थानमा पनि शतबीज छर्छन्।
धर्म, संस्कार र पितृप्रतिको श्रद्धाले ओतप्रोत बालाचतुर्दशी पर्व आज भव्य रूपमा मनाइँदैछ।





