समाचार

छिट्टै सत्ता हस्तान्तरणका लागि तयार छौं: गृहमन्त्री

९ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार चुस्त गति र स्पष्ट उद्देश्यका साथ काम गरिरहेको बताउँदै निर्वाचित सरकारलाई चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्।

लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनपछिको चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्न सरकार सफल भएको दाबी गरे। उनका अनुसार हाल मुलुकको सुरक्षा अवस्था सामान्य छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र छ।

अर्यालले वर्तमान सरकार कुनै व्यक्तिको इच्छा वा आश्रयमा बनेको नभई विशेष परिस्थितिले दिएको जिम्मेवारी पूरा गर्न आएको सरकार भएको स्पष्ट पारे।
उनले भने, हामी व्यक्तिगत चाहनाका कारण आएका होइनौं। देशको शून्यता भर्नु थियो, त्यसैले यो जिम्मेवारी लिइएको हो।

गृहमन्त्रीका अनुसार सरकारले सुशासनलाई आधार बनाएर आगामी निर्वाचन निस्पक्ष, शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गर्नेछ। उनले विभिन्न महत्त्वपूर्ण सुरक्षा संयन्त्र सक्रिय रहेको र प्रदेश–संघीय समन्वयमार्फत चुनावपूर्व, चुनावका बीच र चुनावपछि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए।

सुरक्षा गोष्ठीमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनाका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।