१० मंसिर, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ।
निर्वाचन आयोगले १ मंसिरदेखि सुरू गरेको दर्ता प्रक्रियामा हिजोसम्म ८० राजनीतिक दल दर्ता भइसकेका छन्। आजसम्म दर्ता गर्ने दलहरूलाई मात्र फागुन २१ मा हुने चुनावमा सहभागी हुने व्यवस्था छ।
पहिलो–पूर्वनिर्वाचित हुने प्रणाली (फर्स्ट पास्ट द पोस्ट) अन्तर्गतको निर्वाचन कार्यतालिकाअनुसार ६ माघमा उम्मेदवार मनोनयन दर्ता हुनेछ। त्यही दिन साँझ मनोनयन दर्ता भएका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ।
७ माघमा उम्मेदवारविरुद्ध उजुरी दिने समय रहनेछ भने ८ माघमा मनोनयन र उजुरी सम्बन्धी छानबिन तथा निर्णय गर्ने प्रक्रिया चल्नेछ। सोही दिन पुनः संशोधित नामावली प्रकाशित हुनेछ।
९ माघमा उम्मेदवारले मनोनयन फिर्ता लिन पाउनेछन्। अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।





