समाचार

वरपिपल रिसोर्ट आगजनी: एक जनालाई पुर्पक्ष, छ जनालाई धरौटीमा रिहा

१९ मंसिर, काठमाडौँ । जेन–जी आन्दोलनको दोस्रो दिन पोखरास्थित वरपिपल रिसोर्टमा आगजनी र तोडफोड प्रकरणमा संलग्न आरोप लागेका सात जनामध्ये एक जनालाई न्यायिक हिरासतमै पठाइएको छ भने बाँकी ६ जनालाई धरौटीमा रिहा गरिएको छ।

जिल्ला अदालत कास्कीले सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामाथि सुनुवाइ गर्दै रुपक नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। आन्दोलनका क्रममा अर्धनग्न अवस्थामा रिसोर्ट जलाउन पुगेको भिडियो र फोटो प्रमाणका आधारमा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। २९ वर्षीय रुपक पोखरा रंगशालामा बडिबिल्डिङ प्रशिक्षण दिने व्यक्ति रहेको खुला छ।

इजलासका न्यायाधीश शंकरबहादुर राईले महेन्द्र नेपाली र एलिशा गुरुङलाई २ लाख धरौटीमा छाड्ने, भने कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का र खड्कबहादुर थापालाई ३–३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएका छन्।

भदौ २४ गते प्रचण्डको लगानी रहेको भन्ने अफवाह फैलिँदै रिसोर्टमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। रिसोर्टका सञ्चालक अमरजंग गुरुङका अनुसार ३० वर्षको मेहनत र बैंक ऋण उठाएर बनाएको व्यवसायमा ३ पर्यटक गाडी, ३ गेस्ट कार, बार, स्पा, लबी र गेस्ट–रूमसहित ठूलो भौतिक क्षति पुगेको छ। उनले “रिसोर्टमा कुनै राजनीतिक नेताको लगानी छैन, पूरा पसिना मेरो हो,” भन्दै अफवाहकै कारण ब्रान्डलाई क्षति पुगेको दुःख व्यक्त गरे।

जेन–जी आन्दोलनका क्रममा पोखरामा मात्र २७ प्रहरी चौकी, २७ निजी घर–व्यवसाय र १ सय १६ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए।