समाचार

हेटौँडामा घर र संरचना भत्काउने कार्य सुरु

२० मङ्सिर, काठमाडौँ । मकवानपुरको हेटौँडा–बुद्धचोक क्षेत्रमा सडक विस्तारको काम तीव्र बनाउँदै सडक डिभिजन हेटौंडाले शनिबार बिहानैदेखि घर र अन्य संरचना भत्काउने कार्य सुरु गरेको छ।

सडक डिभिजनले मंसिर ५ गते २५ गजभित्र पर्ने सबै संरचना स्वेच्छाले हटाउन १५ दिने अल्टिमेटम दिएको थियो। म्याद सकिएपछि आज बिहानैदेखि बुल्डोजर र डोजर सहितको टोली परिचालन गरी संरचना भत्काउने कार्य अघि बढाइएको हो।

बुल्डोजर चल्दा आसपासको क्षेत्रमा ठूलो भीड लागेको छ भने कुनै अप्रिय घटना नहोस भनेर सुरक्षाकर्मी बाक्लो रूपमा खटाइएको छ। स्थानीयबासीले संरचना हटाउन केहीले सहयोग गरेका छन् भने केहीले असन्तुष्टि जनाएका कारण प्रहरीको उपस्थिति अझ बढाइएको जनाइएको छ।

सडक विस्तारपछि यो क्षेत्रको यातायात सहज हुने अपेक्षा गरिएको भए पनि तत्कालका लागि स्थानीयहरू प्रभावित बनेका छन्।