समाचार

एमाले ११ औं महाधिवेशन आजदेखि, उद्घाटनमा कति दल सहभागी ?

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा सुरु हुँदैछ । मध्यान्हमा हुने उद्घाटन समारोहमा १६ राजनीतिक दल र ६ सामाजिक संघ संस्थाका प्रतिनिधि सहभागी हुने अतिथि सत्कार समितिले जनाएको छ ।

नेपाली कांग्रेसबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का सहभागी हुनेछन् भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्डको सट्टा नेता देव गुरुङ उपस्थित हुनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी हुनेछन् ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे अनुपस्थित रहनेछन् भने जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौं बाहिरबाट सन्देश पठाएका छन् । उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एशोसिएसनलगायत सामाजिक संस्थाका प्रतिनिधिको पनि उपस्थिति रहनेछ ।