२८ मंसिर, काठमाडौं । नेकपा एमालेले आन्तरिक विरोधका बीच विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र केन्द्रीय कमिटीको संख्या पुनः पुरानै कायम गरेको छ।
गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ कायम गर्ने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो। तर आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय संशोधन गर्दै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको संरचना पुनः विस्तार गरेको हो।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउनुपर्ने दबाब रहेको भन्दै नयाँ केन्द्रीय संरचनाको प्रस्ताव अघि सारेका थिए। सो प्रस्ताव अनुसार अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने व्यवस्था गरिएको छ। साथै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ। यससँगै केन्द्रीय कमिटीको कुल संख्या ३०१ पुगेको छ।
यसअघि एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय नै थियो। तर विधान महाधिवेशनमार्फत त्यसलाई २५१ मा झारिएको थियो। धेरै मिहिनेत र खर्च गरेर टुंग्याइएको विषयलाई फेरि संशोधन गरिएको भन्दै केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि र विरोधका स्वरहरू पनि उठेका थिए।
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले संख्या बढाउन नभई पार्टीलाई आत्मसमीक्षा गरेर बदलिन सन्देश दिएको बताए। उनले संख्या बढाउँदैमा पार्टीको क्षमता बढ्ने ग्यारेन्टी के हो भन्ने प्रश्न समेत उठाए।
“संख्या बढाएर क्षमता बढ्छ भने अघिल्लो संरचनामा हाम्रो क्षमता किन जाँचिएन?” उनले प्रश्न गरे।
पोखरेलले दुई कार्यकालको व्यवस्थाबारे समेत छलफल हुनुपर्ने विषय उठाउँदै त्यसलाई छाडेर अन्य विषय मात्रै अघि बढाइनु उचित नहुने तर्क गरे।





