२८ मंसिर, काठमाडौं । नेकपा एमालेले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ। दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या बढाउनेसहित विधान संशोधन गर्ने निर्णय गरेको हो।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संशोधित विधानअनुसार १९ जना पदाधिकारी रहने प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरिनेछ। प्रस्तावअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्।
यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा सीमित गरेको थियो। सचिवालय बैठकले पनि सोही विधानअनुसार अघि बढ्ने निर्णय गरे पनि अन्तिम समयमा केन्द्रीय कमिटीले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो।
संशोधनअनुसार ९९ सदस्यीय पोलिटब्युरो रहने र त्यसको एक तिहाइ सदस्य स्थायी कमिटी बन्नेछन्। केन्द्रीय कमिटीको संख्या भने २५१ बाट बढाएर ३०१ पुर्याइएको छ।





