२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान गर्ने तयारी भए पनि एक दिनका लागि स्थगित गरिएको थियो।
मंगलबार साँझ करिब ७ बजे प्रतिनिधिहरू मतदानका लागि भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मतदान सारिएको हो। पार्टीका अनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।
मतदान स्थल भृकुटीमण्डप नै रहने भए पनि हल परिवर्तन गरिने जनाइएको छ। यसपटक एमालेले पहिलोपटक इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्न लागेको छ। मतदानका लागि ८० वटा विद्युतीय मेसिन जडान गरिएको छ, जसको प्राविधिक तयारी मंगलबार नै पूरा भइसकेको थियो।
रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका मेसिनमार्फत कुल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
यसैबीच, केही केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारी र सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्।





