समाचार

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पुनः बस्दै

११ पुस, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार दिउँसो १ बजे पुनः बस्दैछ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि जारी बैठकको आजको छलफलमा क्रियाशील सदस्यता, वडा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशनको कार्यतालिकाबारे केन्द्रित हुनेछ।

यसअघिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याएर वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनतर्फ जानुपर्ने प्रस्ताव अघि सारेका थिए।

उनले नेतृत्व चयनसँगै महाधिवेशनबाट सकारात्मक सन्देश दिनु आवश्यक रहेको उल्लेख गर्दै सुरक्षा अवस्था सहज नहुँदासम्म निर्वाचन सम्भव नरहेको बताए। शर्माका अनुसार चुनाव फागुनभन्दा वैशाखमा गर्नु उपयुक्त हुने निष्कर्ष निकालिएको छ।

महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय सबैले पालना गर्नुपर्ने भन्दै महाधिवेशनको मिति केही दिन हेरफेर हुनसक्ने संकेतसमेत दिएका छन्।

त्यस्तै, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका आन्तरिक विषयलाई बाहिर अतिरञ्जित रूपमा प्रस्तुत गर्नुभन्दा बैठकभित्रै छलफल गर्नु उपयुक्त हुने बताएका छन्। उनले क्रियाशील सदस्यता व्यवस्थापन र अधिवेशन प्रक्रिया अगाडि बढाउन कुनै बाधा नरहेको स्पष्ट पारे।

आजको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।