समाचार

छापामारीको विरोधमा माओवादीको चार दिने संघर्ष अभियान

१२ पुस, काठमाडौं । अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ।

शनिबार बसेको स्थायी समिति बैठकले मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शन र अन्तरक्रिया कार्यक्रमसहित चार दिने आन्दोलनको तालिका सार्वजनिक गरेको हो। माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार शनिबार बेलुकी ६ बजे मशाल जुलुस निकालिने छ।

कार्यक्रम अनुसार १३ पुसमा दिउँसो २ बजे कोणसभा, १४ पुसमा दिउँसो २ बजे विरोध प्रदर्शन, र १५ पुसमा काठमाडौंमा दिउँसो १ बजे अन्तरक्रिया कार्यक्रम आयोजना हुने तय भएको छ।

पुलिसले ११ पुसमा अर्घाखाँचीको सितगङ्गा–११ मा माओवादीको कम्युनमा छापा मार्दा केही हतियार र विस्फोटक पदार्थ बरामद गरेको थियो। तर माओवादीले सरकारमाथि आफ्नो कम्युन र सर्वसाधारणको घरमा छापा मारेर “स्वेत आतंक” मच्चाएको आरोप लगाएको छ।

प्रवक्ता प्रकाण्डले भने, “सरकारले शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार त गर्छ, तर कार्यमा हाम्रो उत्पादन केन्द्र र जनताको घरमा छापा मारेर देशलाई अशान्तितिर धकेल्न खोजेको स्पष्ट छ।”