सामाजिक सञ्जाल

आशिका तामाङको प्रश्नः सभापति पुरुष, पदाअधिकारी पुरुष, महिलाको भुमिका ख्वै ?

२६ पुस, काठमाडौँ । सामाजिक कार्यकर्ता तथा महिला अधिकार अभियन्ता आशिका तामाङले नेपाली समाजमा विद्यमान गहिरो लैङ्गिक असमानतामाथि कडा आलोचना गरेकी छन्। उनले महिलाले परिवार र समाजका लागि गरेको त्याग र योगदानको उचित कदर नहुँदै आएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमा अभिव्यक्तिमा तामाङले महिलाहरूले भोक, निद्रा, प्यास, शारीरिक पीडा र पारिवारिक जिम्मेवारी सहँदै आफ्नो दायित्व पूरा गरिरहे पनि समाजले उनीहरूलाई पुरुषको वरिपरि मात्र सीमित राख्न खोजिरहेको उल्लेख गरेकी छन्। महिलाको श्रम र त्यागलाई सामान्य ठान्ने प्रवृत्तिले उनीहरूको अस्तित्व र अधिकार ओझेलमा परेको उनको भनाइ छ। उनले देशको राजनीतिक नेतृत्वमा महिलाको न्यून प्रतिनिधित्वप्रति पनि प्रश्न उठाएकी छन्।

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, केन्द्रीय सदस्य, अध्यक्ष र उपाध्यक्षजस्ता अधिकांश महत्वपूर्ण पदहरूमा पुरुषको वर्चस्व रहेको उल्लेख गर्दै उनले महिलाका मुद्दा किन सशक्त रूपमा संसदमा उठ्न नसकेको भनी प्रश्न गरेकी छन्। तामाङले लाखौं नेपाली महिलासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई गम्भीर रूपमा नलिइनु चिन्ताजनक भएको बताउँदै महिला सशक्तिकरण र समान सहभागिताका लागि केवल औपचारिकता होइन, व्यवहारिक र संरचनागत परिवर्तन आवश्यक रहेकोमा जोड दिएकी छन्।

उनको अभिव्यक्तिलाई नेपाली समाजमा लैङ्गिक समानता र महिला अधिकारबारे पुनः गम्भीर बहसको आवश्यकता औँल्याउने महत्वपूर्ण आवाजका रूपमा हेरिएको छ।