समाचार

टिकट नपाएपछि यज्ञजित शाहले एमाले छाडे

५ माघ, बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद यज्ञजित शाहले नेकपा एमालेबाट राजीनामा दिएका छन् । टिकट नपाउने निश्चित भएपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक पत्र पठाउँदै एमाले त्यागेको घोषणा गरेका हुन् ।

एमालेले रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि शाह असन्तुष्ट बनेका थिए । उनी सोही क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षी थिए ।

राजीनामा पत्रमा शाहले पार्टीभित्र अवसरवादी प्रवृत्ति हाबी भएको भन्दै यस्तो वातावरणमा बसिरहनुको औचित्य नरहेको उल्लेख गरेका छन् । उनले आफूले पार्टीबाट कुनै अवसर नपाएको गुनासो पनि गरेका छन् ।

शाहले ९ वर्षअघि केपी शर्मा ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए । उनी २०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् ।