७ माघ, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ सिटका लागि कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये ३९५ जना महिला र ३ हजार ८८ जना पुरुष रहेका छन् ।
उमेर समूहको आधारमा हेर्दा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवारको संख्या सबैभन्दा धेरै देखिएको छ । यस समूहमा कुल १ हजार ६१० जना रहेका छन्, जसमा २३५ जना महिला र १ हजार ३७५ जना पुरुष छन् ।
२५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना उम्मेदवार रहेका छन् । यसमध्ये ६७ जना महिला र ५१५ जना पुरुष छन् ।
त्यस्तै, ५१ देखि ६५ वर्ष उमेर समूहमा १ हजार ९० जना उम्मेदवार छन्, जसमा ९० जना महिला र १ हजार जना पुरुष रहेका छन् ।
६५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या २०१ पुगेको छ । यस समूहमा महिला ३ जना मात्र छन् भने पुरुष १९८ जना रहेका छन् ।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा ६८ वटा दलले उम्मेदवार उठाएका छन् ।





