मौसम

तीन वर्षपछि गुप्सी पुनः हिउँको आगोशमा

१५ माघ, काठमाडौं। गोरखाको उच्च पहाडी तथा हिमाली भेगमा बुधबार बिहानदेखि भारी हिमपात भएको छ। लाप्राक, चुमनुब्री र धार्चे गाउँपालिकाका दर्जनौं गाउँबस्ती पूर्ण रूपमा सेताम्मै ढाकिएका छन्। धार्चे–लाप्राकस्थित गुप्सीपाखा र सिङ्लामा तीन वर्षपछि हिमपात परेको स्थानीयहरूले बताएका छन्।

हिउँ परेको क्षेत्रमा पर्यटक र स्थानीयहरू हिमपातको रमाइलो गर्न भेला भएका छन्। गोरखा भूकम्पपछि गैरआवसीय नेपाली संघले गुप्सीमा करिब ६ सय एउटै प्रकारका घर निर्माण गरेका थिए। समुद्री सतहबाट करिब २९ सय मिटर उचाइमा रहेको गुप्सीपाखा हिउँ परेपछि अझै सुन्दर देखिएकोले पर्यटकको आकर्षण बढेको छ।

तर भारी हिमपातका कारण पशुपालन गर्ने किसानहरू समस्या भोग्न बाध्य भएका छन्। भेडा, च्याङ्गा, चौरी, खच्चड र घोडा पालनमा कठिनाइ देखिएको छ। साथै, जमेको हिउँले धारामा पानी जम्दा पिउने पानीको अभाव पनि देखिएको छ।

यद्यपि, किसानहरूले भने हिउँ परेपछि गहुँ, जौ, आलु र फापरको खेती राम्रो हुने अपेक्षा व्यक्त गरेका छन् र यसले तिनीहरूलाई खुशी दिएको छ।