प्रदेश 2

मकवानपुर–२ मा रोचक चुनावी प्रतिस्पर्धा, बर्तौला, लामा र विष्ट मुख्य दाबेदार

२० माघ, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै गएको छ। भौगोलिक रूपमा विकट, विपन्न र अति सिमान्तकृत समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा १८ दलीय र ३ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये २ जना मात्रै महिला हुन्।

मानव–वन्यजन्तु द्वन्द्व, गरिबी, विकासको अभाव र सामाजिक समस्याले ग्रसित यस क्षेत्रमा मतदाताको अपेक्षा पनि उच्च देखिन्छ। प्रमुख प्रतिस्पर्धामा नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा र नेकपाका लवशेर विष्ट छन् भने रास्वपाबाट युवा उम्मेदवार प्रशान्त उप्रेती चुनावी होडमा छन्।

२०७९ को निर्वाचन परिणाम हेर्दा एमाले बलियो देखिए पनि यसपटक दलहरू अलग–अलग उम्मेदवारसहित मैदानमा उत्रिँदा मत बाँडिन सक्ने अनुमान छ। उम्मेदवारहरूको शालिन छवि र व्यक्तिगत प्रभावका आधारमा यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।