२० माघ, काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि सरकारी कागजातको आधारमा मतदान गर्न पाइने स्पष्ट गरेको छ । आयोगद्वारा स्थापना गरिएको कल सेन्टरमा प्राप्त जिज्ञासाको जवाफ दिँदै यस्तो जानकारी गराइएको हो ।
‘मतदाता परिचयपत्र नभए मतदान गर्न पाइन्छ कि पाइँदैन ?’ भन्ने प्रश्नको उत्तरमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने जनाएको छ । आयोगका अनुसार मतदाताले आफ्नो पहिचान पुष्टि हुने आधिकारिक सरकारी कागजात प्रस्तुत गरेमा मतदान गर्न कुनै अवरोध नहुने छ ।
निर्वाचन आयोगले मतदाताहरूलाई मतदानका दिन आवश्यक कागजात साथमा राख्न आग्रह गर्दै, सहज र सुरक्षित रूपमा मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ ।





