मनोरञ्जन

वरिष्ठ अभिनेता सुनिल थापाको निधन, नेपाली र भारतीय चलचित्र क्षेत्र शोकमा

सुनिल थापा

२४ माघ, काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनको निधनको खबरले नेपाली तथा भारतीय चलचित्र र सिरिज क्षेत्रमा गहिरो शोक छाएको छ ।

शनिबार बिहानै छायांकनका लागि जाने तयारीमा रहेका थापालाई नजिकका कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ ले उठाइदिनुपर्ने थियो । तर थापालाई उठाउन जानुअघि नै उनले निधनको दुःखद खबर सुन्नुपरेको थियो । यो समाचारले कलाकार समुदायलाई स्तब्ध बनाएको छ ।

१९ मे १९५७ मा जन्मिएका थापाले चार दशकभन्दा बढी समय अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगका विभिन्न क्षेत्रमा योगदान दिएका थिए । उनको करिअर मोडलिङबाट सुरु भएको हो । सन् १९७४ मा मुम्बईमा मोडलका रूपमा काम गर्दै उनले बिन्नी र माफतलालजस्ता प्रतिष्ठित ब्रान्डका लागि काम गरे । सोही समय उनी फुटबल खेलाडीका रूपमा आइसीएल क्लब बम्बे र ओर्केज स्पोर्ट्स क्लबसँग आबद्ध रहे ।

मोडलिङसँगै उनले ‘जुनियर स्टेट्सम्यान’ म्यागजिनमा फोटो पत्रकारका रूपमा पनि काम गरे । सन् १९७४ मा भुटानमा सम्पन्न राज्याभिषेकको अन्तर्राष्ट्रिय कभरेज समेत उनले गरेका थिए ।

थापाले सन् १९८१ मा भारतीय चलचित्र ‘एक दुजेके लिए’ बाट बलिउडमा अभिनय यात्रा सुरु गरेका थिए । यो चलचित्र सफल भएपछि उनी भारतीय सिने जगतमा परिचित बने । त्यसपछि उनी नेपाली चलचित्रतर्फ आकर्षित भए । सन् १९८५ मा रिलिज भएको ‘मसाल’ उनको डेब्यू नेपाली फिल्म हो ।

सन् १९८९ मा रिलिज भएको कालजयी नेपाली फिल्म ‘चिनो’ मा राते काइँलाको भूमिकाबाट थापा अत्यधिक लोकप्रिय बने । उक्त भूमिकाले उनलाई नेपाली सिनेमाको सबैभन्दा स्मरणीय खलनायकका रूपमा स्थापित गर्‍यो । त्यसपछि उनी ‘राते काइँला’ नामले नै चिनिन थाले ।

थापाले नेपाली चलचित्रमा खलनायक पात्रलाई नयाँ उचाइमा पुर्‍याए । उनले खलनायकलाई केवल नकारात्मक पात्रका रूपमा होइन, गम्भीर, शक्तिशाली, बौद्धिक र मानवीय पक्षसहित प्रस्तुत गरे । यसले नेपाली चलचित्रमा खलनायक चरित्रको पुनर्परिभाषा गर्‍यो ।

नेपाली फिल्मसँगै उनले बलिउडमा पनि आफ्नो सशक्त उपस्थिति जनाए । प्रियंका चोपडा अभिनीत ‘मेरी कम’ (२०१४) मा प्रशिक्षकको भूमिकामा देखिएका थापाले उक्त भूमिकाका लागि फिल्मफेयर अवार्डमा मनोनयन समेत प्राप्त गरे । यो चलचित्रले उनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्‍यो ।

थापा खलनायक भूमिकामा मात्र सीमित रहेनन् । उनले ऐतिहासिक, सामाजिक, क्रान्तिकारी तथा संगीतिक विषयका फिल्ममा समेत विविध भूमिकामार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गरे । शारीरिक हाउभाउ, बलियो आवाज, गहिरो भावनात्मक अभिव्यक्ति र सशक्त संवाद शैली उनको अभिनयको विशेषता थियो ।

हालसम्म उनले १३८ भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनको अन्तिम रिलिज भएको फिल्म ‘एक्लो’ हो भने छायांकन सम्पन्न भइसकेको ‘राम नाम सत्य’ तथा तुलसी घिमिरे निर्देशित ‘पहाड’ प्रदर्शनको तयारीमा छन् ।

सुनिल थापाको निधनले नेपाली सिनेमा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उनले नेपाली चलचित्रमा खलनायक पात्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै नयाँ मापदण्ड स्थापित गरे । उनको योगदान, कला र अभिनय नेपाली चलचित्र इतिहासमा सदैव स्मरणीय रहनेछ ।