समाचार

धादिङ बस दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु, मृतक संख्या १८ पुग्यो

११ फागुन, काठमाडौं । धादिङमा भएको भीषण बस दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचाररत ती घाइतेको ज्यान गएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतक स्याङ्जा निवासी हुन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायत विभिन्न अस्पताल पठाइएको थियो । अचेत अवस्थामा रहेका घाइतेलाई मलेखु र जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको थियो ।

रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायीले संयुक्त रूपमा उद्धारकार्य सञ्चालन गरेका थिए । घटनास्थलबाट डुंगाको सहायताले यात्रुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो ।

बस सडकबाट तल झरेर त्रिशूली किनारको ढुंगामा ठोक्किँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । अँध्यारो, अप्ठ्यारो भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।