समाचार

मध्यपूर्व तनावबारे केपी शर्मा ओली चिन्तित: भन्छन् ‘नेपालीको सुरक्षाले निद्रा हरायो’

काठमाडौं, १७ फागुन । केपी शर्मा ओली ले मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण आफूलाई निद्रा नलागेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले त्यहाँ रहेका लाखौं नेपाली नागरिकको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।

हालै अमेरिका र इजरायल ले संयुक्त रूपमा इरान माथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमण स्वरूप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। त्यसको प्रभाव कतार, बहराइन, संयुक्त अरब इमिरेट्स, कुवेत लगायत क्षेत्रमा देखिएको बताइएको छ, जसले त्यहाँ त्रासको वातावरण सिर्जना गरेको छ।

ओलीले लेखेका छन्, “मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्। तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ।”

उनले थप भनेका छन्, “आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु। यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ।” उनले विवेक, धैर्य र साहसका साथ परिस्थितिको सामना गर्न आग्रह गरेका छन्।

मध्यपूर्वका मुलुकहरू भूराजनीतिक चेपेटामा परेको उल्लेख गर्दै ओलीले ती देशहरू स्वयं पनि युद्ध नचाहेको तर शक्तिशाली राष्ट्रहरूको स्वार्थका कारण परिस्थिति जटिल बनेको टिप्पणी गरेका छन्। उनले नेपालमा हालसम्म यस्ता आक्रमणको प्रभाव नपरेकोमा सौभाग्य ठानेका छन् र भविष्यमा पनि यस्ता संकट नआओस् भन्ने कामना व्यक्त गरेका छन्।

साथै उनले मध्यपूर्वमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँस्थित नेपाली दूतावास र नेपाल सरकारलाई नागरिक सुरक्षाका लागि तुरुन्त सक्रिय हुन आग्रह गरेका छन्।