१७ फागुन, काठमाडौं । नेपाली दूतावास यूएईले संयुक्त अरब इमिरेट्समा विकसित भइरहेको अवस्थालाई ध्यानमा राख्दै त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सञ्जालमा अपुष्ट र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।
दूतावासले ‘एड्भाइजरी–२’ जारी गर्दै अज्ञात स्रोतबाट प्राप्त सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न सचेत गराएको हो। पछिल्लो समय सामाजिक सञ्जाल र अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर हुँदा सुरक्षा अवस्थाबारे भ्रम र अन्योल सिर्जना हुन सक्ने दूतावासको भनाइ छ।
फोटो तथा भिडियो खिचेर पोस्ट गर्दा समेत जिम्मेवार बन्न अपिल गरिएको छ। यूएईका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुन सक्ने चेतावनी दिइसकेको उल्लेख गर्दै दूतावासले स्थानीय कानुनको पूर्ण पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ।
सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक निकायबाट जारी हुने सूचना तथा अपडेटलाई मात्र आधार मान्न दूतावासले आग्रह गरेको छ।
यसअघि पनि दूतावासले पहिलो एड्भाइजरी जारी गर्दै अनावश्यक यात्रा नगर्न सुझाव दिएको थियो।





