२ चैत, काठमाडौँ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको छ ।
फागुन ३० देखि चैत आजसम्म (१४–१६ मार्च) काठमाडौँमा भएको सम्मेलनले विश्वभर छरिएका नेपाली समुदायलाई नेपालको समृद्धि, विकास तथा विश्वव्यापी रूपमा रहेका नेपालीको हित प्रवर्द्धनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । सम्मेलनले रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ ।
सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सङ्कटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ ।
यसैगरी, विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
घोषणापत्रमा प्रवासमा जन्मिएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने उल्लेख छ ।
सम्मेलनले जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी, विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुभव र पुँजीलाई मातृभूमिसँग जोड्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक सङ्कल्प पनि गरिएको छ ।
सम्मेलनमा चार हजार २८६ प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौँमा भौतिक र बाँकी प्रतिनिधि अनलाइनमार्फत सहभागी भएका आयोजकले जनाएको छ ।
१. गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी सुधार गर्न संघ आग्रह गर्दछ। नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा भौतिक पूर्वाधार विकास र नेपालीहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीहरूको लगानी प्रोत्साहित गर्न यो सम्मेलन प्रतिबद्ध छ।
२. गैरआवासीय नेपालीहरूको सहभागिता वृद्धि गर्नका लागि चल तथा अचल सम्पत्तिको कारोबार, धितोपत्रमार्फत लगानी, लगानी तथा लगानी राफसाफका लागि बैंक खाता खोल्न तथा लगानी फिर्ता लैजान गैरआवासीय नेपालीहरूको लगानी व्यवस्थापन गर्न छुट्टै निकाय खडा गर्ने र यी सबै कार्य सहज बनाउन एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, मालपोत ऐन तथा नियमावलीहरू संशोधन गर्न नेपाल सरकारसँग सम्मेलन हार्दिक अनुरोध गर्दछ। साथै नेपाल सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबाट जारी हुने धितोपत्रको सीमा ८५% अविलम्ब कायम गर्न माग गर्दछ।
मागहरु यस्ता छन्
३. मध्यपूर्वको पछिल्लो अवस्थाप्रति हामी अत्यन्त चिन्तित र गम्भीर छौँ। मध्यपूर्वका विभिन्न भागमा रहेका नेपालीहरू संकटमा परेको अवस्थामा राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन एनआरएनएले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्यलाई सुदृढ बनाउने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ।
४. नेपालको संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी गैरआवासीय नेपाली नागरिकता कार्यन्वयन सम्बन्धी कानुनी र नीतिगत सुधारका लागि ऐन यथाशिध्र संशोधनका लागि सम्बन्धित निकायसँग यो सम्मेलन माग गर्दछ ।
५. विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार र सहयोगको पहल गर्न यो सम्मेलन प्रतिवद्द छ l
६. प्रवासमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका युवाहरूलाई नेपाली भाषी, नेपाल मुलका विदेशी नागरिक(पीएनओ ) लाई, संस्कृति, इतिहास र पहिचानसँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिनेछ l
७. विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा सहकार्य गर्दै ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्याईनेछ ।
८. जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगहरूमा गैरआवासीय नेपाली लगानीलाई प्रोत्साहन गर्दै नेपाल सरकारसँग सहकार्य गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्नेछौँ ।
९. प्रवासमा रहेका नेपाली समुदायमार्फत नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाललाई विश्वसामु चिनाउने अभियानलाई अझ सशक्त बनाउन प्रतिवद्द छ l
१०. विश्वभर रहेका नेपालीहरूको एकता, ज्ञान, अनुभव र पुँजीलाई नेपालसँग जोड्दै “हाम्रो एकता, समृद्धिको आधार” नारालाई व्यवहारमा उतार्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपालको निर्माणमा योगदान गर्ने सामूहिक संकल्प व्यक्त गर्दछ l
११. एनआरएनएको १२ औं विश्वसम्मेलन तथा एकताको महाधिवेशनबाट नव निर्वाचित नेतृत्वले अब बन्ने नयाँ सरकारसँग निरन्तर सहयोगको अपेक्षा गर्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।
१२. गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीहरूको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउँदै एकता, सहकार्य र पारस्परिक सम्मानको संस्कृतिलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछ ।





