४ चैत, काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको नम्बरको हेलिकप्टर बुधबार मध्यान्ह अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ।
काठमाडौंबाट बिहान करिब ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा ११:५१ बजे पल्टिएको हो।
दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन्। काठमाडौंका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको स्थानीय वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिएका छन्। अन्य यात्रु तथा चालक दल भने सकुशल रहेका छन्।
उक्त हेलिकप्टरमा नागमणि राईसहित उनका परिवारजन सवार थिए। उनकी श्रीमतीको बेलायतमा निधन भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो। तर, हेलिकप्टरमा यात्रु संख्या बढी भएकाले शव भने छुट्टै सवारीमार्फत पठाइएको र भोलि मात्र खोटाङ पुग्ने जनाइएको छ।
वडाध्यक्ष राईका अनुसार हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भई दुर्घटना भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि हेलिकप्टर अवतरणका क्रममा पल्टिएको पुष्टि गर्दै एक जना बाहेक सबै सुरक्षित रहेको जनाएको छ। घाइतेलाई कम्पनीकै अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको क्यानले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





