प्रवास

कुवेत ट्रान्जिटमा फसेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

८ चैत, काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ ।

कुवेतस्थित नेपाली राजदूतावास को पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी अरेबिया पठाइएको हो । हवाई उडान अवरुद्ध भएपछि विभिन्न देशतर्फ जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावास सँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जनाइएको छ ।

साउदीतर्फ हवाई सेवा सञ्चालनमा रहेकाले सोही मार्ग प्रयोग गरी यात्रुहरूलाई अन्तिम गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

यसअघि पनि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियाद स्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थलमार्ग हुँदै पठाइएको थियो ।

कुवेत र कतार दुवै देशको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई पहिलो चरणमा स्थलमार्गबाट साउदी पुर्‍याउने र त्यसपछि हवाई मार्गबाट अन्तिम गन्तव्यमा पठाउने प्रक्रिया जारी रहेको छ ।

यस प्रयोजनका लागि कुवेत र कतारमा रहेका नेपालीहरूलाई ट्रान्जिटका लागि साउदी भिसा लिन आग्रह गरिएको थियो । सोही अनुसार प्रभावित यात्रुहरूले अनलाइनमार्फत भिसा आवेदन दिएका थिए र भिसा प्राप्त गरेपछि दूतावासको सहजिकरणमा उनीहरूलाई साउदी पठाउने काम भइरहेको छ ।