११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गरेको छ। परिषद् अनुसार, पटकपटक दिएको निर्देशन पालना नगरेको कारण एन्फा नेतृत्वमाथि कारवाही गरिएको हो।
राखेपले आफ्नो निर्णयमा भनेको छ कि “विद्यमान ऐन, कानुन र संघको स्वीकृत विधान बमोजिम गर्नु पर्ने विषयहरु कार्यान्वयन गर्नका लागि पटक पटक दिइएको लिखित निर्देशन कार्यान्वयन नगरी राष्ट्रिय कानुनको प्रधानताको सिद्धान्तलाई अवमूल्यन गर्ने मनसाय देखिएको” छ। यसै कारण पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा तीन महिनाका लागि निलम्बनमा परेको हो।
राखेपले भनेको छ कि एन्फा नेतृत्वले परिषद् मार्फत मागिएका दायित्व र जिम्मेवारी पुरा नगरेको र लिखित जवाफ उपयुक्त नभएको कारण कारवाही गरिएको हो।
एन्फा विवादको पछिल्लो कारण भनेको एन्फाले विधानमा नभएको अर्ली इलेक्सनको तयारी गर्नु हो। एन्फाले चैत १३ गते निर्वाचन गर्ने तयारी गरेपछि राखेपले पटकपटक स्वीकृति बिना निर्वाचन नगर्न निर्देशन दिएको थियो। तर एन्फाले निर्देशनको अवज्ञा गरेपछि परिषद्ले कारवाही गरेको हो।
राखेपले एन्फालाई निर्वाचन रोक्न २४ घण्टाको अल्टिमेटम दिएको थियो। जवाफ नपुगेपछि कारवाही गरिएको हो।
निलम्बनसँगै नेपाली फुटबल संकटमा फस्ने सम्भावना देखिएको छ। यसो भएमा फिफाले पनि एन्फालाई निलम्बन गर्न सक्ने सम्भावना बढ्नेछ र नेपालले अन्तर्राष्ट्रिय खेल र फन्डहरू गुमाउन सक्छ।
बुँदाहरू
१. राष्ट्रिय खेल संघ महासंघको विधानमा एकरुपता कायम गर्न संघको विधानमा प्रस्तावना र संक्षिप्त नाम समेटी राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को खण्ड (झ) अनुसार परिषदबाट स्वीकृती भए पछि लागु हुन व्यवस्था हुनुपर्ने।
२. संघको विधानको परिभाषा खण्डमा ऐन भन्नाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई जनाउने छ भन्ने व्यवस्था थप हुनु पर्ने ।
३. संघको विधानको परिभाषा खण्डमा नियमावली भन्नाले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ लाई जनाउने छ भन्ने व्यवस्था थप हुनु पर्ने ।
४. संघको विधानमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ दफा २२ को खण्ड (ग) अनुसार प्रत्येक चार वर्षमा लोकतान्त्रिक पद्धति अनुसार खेल संघका पदाधिकारी र सदस्यहरुको निर्वाचन हुने व्यवस्था हुनुपर्ने।
५. राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ दफा २२ को उपदफा ४ र ५ अनुसार खेल संघका पदाधिकारी र सदस्यहरुको निर्वाचन हुने व्यवस्था हुनुपर्ने।
६. संघको विधानको परिच्छेद ३ को धारा २२ अनुसार गठन हुने प्रदेश तथा जिल्ला संघहरु राष्ट्रिय खेलकुद विकास २०७७ को दफा २३ र २४ मा प्रदेश तथा स्थानियस्तरमा खेल संघ गठन तथा खेल संरचना निर्माण गर्ने व्यवस्था भएबमोजिम सोही अनुसार संरचना निर्माण गरी तहगत रुपामा निर्वाचन गरी संघको विधानमा व्यवस्था भए अनुसार प्रतिनिधित्व हुने व्यस्वस्था हुनुपर्ने ।
७. संघको विधानमा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को खण्ड (ग) अनुसार प्रत्येक खेल संघले आर्थिक वर्ष समाप्त भएको तिन महिना भित्र साधरण सभा गर्ने प्रत्येक चार वर्षमा संघको आवधिक निर्वाचन गर्नुपर्ने र त्यस्तो निर्वाचनको लागि परिषदबाट स्वीकृती लिनु पर्ने व्यवस्था हुनुपर्ने।
८. प्रचलित कानून बमोजिम संघको विधानमा आवश्यक संसोधन एवं परिमार्जन गरिनुपर्ने ।
९. अखिल नेपाल फुटबल संघको निर्वाचन सम्बन्धमा संघको विधानको धारा ३३ देखि ३७ मा रहेको व्यवस्था बमोजिम स्वीकृत विधान र प्रचलित नियमानुसार व्यवस्था हुनुपर्ने।





