१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि ३ महिनाका लागि निलम्बन गरेकोपछि एन्फाको निर्वाचन स्थगित भएको छ।
एन्फा निर्वाचन समितिले जारी गरेको सूचनामा चैत १३ गतेका लागि तय गरिएको निर्वाचन अर्को सूचना नभएसम्मका लागि रोकिएको जानकारी गराइएको छ। राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास ऐन २०७७ को दफा २९ को २ अनुसार बुधबार एन्फा कार्यकारी समिति निलम्बित गरिएको थियो।
निलम्बनपछि एन्फा अध्यक्षका अर्का उम्मेदवार कुमार केसी पक्षले निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ। एन्फा नेतृत्वले आफ्नै कार्यकाल सकिनुभन्दा ३ महिनाअघि विधानमा नभएको अर्ली इलेक्सन गर्न खोज्दा विवाद उत्पन्न भएको थियो।
राखेपले एन्फालाई पटकपटक स्वीकृति बिना निर्वाचन नगर्न पत्र जारी गरेको थियो। तर एन्फाले निर्देशनलाई बेवास्ता गर्दै निर्वाचन गर्ने अडान राखेपछि राखेपले नेतृत्व निलम्बनको निर्णय लिएको थियो।
एन्फा निर्वाचन स्थगित भएपछि नयाँ मिति आयोगले अर्को सूचना जारी गरेपछि मात्र सार्वजनिक गरिनेछ।





