१४ चैत, काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि भएको उक्त घटनाले क्षेत्रलाई तनावग्रस्त बनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सडकमा उत्रिएका कार्यकर्ताहरू माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका थिए। तर प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि नै उनीहरूलाई रोक्न प्रयास गरेपछि स्थिति झडपमा परिणत भएको हो।
झडपका क्रममा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो भने अहिले पनि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रदर्शनकारी र प्रहरीबीचको तनाव अझै पूर्ण रूपमा साम्य भइसकेको छैन।





