१५ चैत, काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउने सम्बन्धी म्याद थप निवेदनमाथि बहस सम्पन्न भएको छ।
आइतबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सरकारी वकिल र प्रतिवादी पक्षबीच बहस सकिएको हो। सरकारी पक्षले दुवै नेतामाथि थप अनुसन्धान गर्न १० दिन थुनामा राख्न अनुमति माग गरेको थियो।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएको दमन घटनासँग सम्बन्धित आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उक्त आन्दोलनका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए।
आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न बनेको आयोगले दुवै नेतामाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसैका आधारमा शनिबार बिहान उनीहरू पक्राउ परेका हुन्।
अदालतमा रमेश लेखक व्यक्तिगत रूपमा उपस्थित भएका थिए भने स्वास्थ्य समस्याका कारण केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत उपस्थित भएका थिए।
अब अदालतले म्याद थप गर्ने वा नगर्ने विषयमा केहीबेरमै निर्णय सुनाउने जनाएको छ।





