१८ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा एक गर्भवती महिलालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७ वर्षीया रसकुमारी केसीलाई बुधबार सुत्केरी व्यथा लागेपछि सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालतर्फ लैजाँदै गर्दा उनले बाटोमै शिशुलाई जन्म दिएकी थिइन्। जन्मिएको शिशुको केही समयमै मृत्यु भएको हो।
जिल्ला अस्पताल पुगेपछि गरिएको जाँचमा शिशु मृत अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विदुर तिवारीले जानकारी दिए। उनका अनुसार रसकुमारीले ३१ हप्तामै शिशुलाई जन्म दिएकी थिइन्, जुन ‘प्री–म्याचुअर बर्थ’ अर्थात् समयभन्दा अगाडि भएको प्रसूति हो।
गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण नहुँदा जोखिम बढेको चिकित्सकले बताएका छन्। शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धारका लागि हेलिकप्टर मगाउने प्रयास गरिएको भए पनि समयमै व्यवस्था हुन नसक्दा नवजात शिशुको ज्यान जोगाउन सकिएन।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावका कारण यस्ता घटनाहरू दोहोरिँदै आएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।





