१९ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आजदेखि एसईई परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफलताका लागि शुभकामना दिएका छन्।
बिहीबार बिहान ८ बजे एसईई सुरु भइसकेपछि शिक्षामन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेख्दै परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका हुन्।
‘आज सुरु एसईईमा सहभागी सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना’, उनले लेखेका छन्, ‘याद राख्नुहोस्, यो अन्तिम होइन, तपाईंको यात्राको एउटा महत्वपूर्ण सुरुवात मात्र हो।’
यस क्रममा शिक्षामन्त्री पोखरेलले परीक्षामा सहभागी हुँदा डर वा तनाव नलिई धैर्यताका साथ उत्तर लेख्न र सकेसम्म राम्रो गर्न सुझाव पनि दिएका छन्।
‘परीक्षा भनेको जीवनको एउटा सानो हिस्सा मात्र हो, त्यसैले डर वा तनावले आफूलाई हाबी हुन दिनु हुँदैन। तपाईंहरूले वर्षभरि गरेको मिहिनेत, त्याग र तयारी नै आजको सबैभन्दा ठूलो शक्ति हो’, उनले लेखेका छन्, ‘नयाँ वातावरण वा दबाबका बिच पनि शान्त रहनुहोस् र आफूमा विश्वास राख्नुहोस्। धैर्यताका साथ प्रश्नहरू समाधान गर्नुहोस् र सक्दो राम्रो प्रयास गर्नुहोस्। अरूसँग तुलना गर्न होइन, आफ्नै प्रगति र आत्मविश्वासका लागि परीक्षा दिनुहोस्।’
यस्तै शिक्षामन्त्री पोखरेलले सफलताका लागि इमानदारी, अनुशासन र आत्मविश्वास सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘तपाईंले गरेको प्रयास कहिल्यै खेर जाँदैन।’





