आर्थिक

८ महिनामै रेमिट्यान्स १४ खर्ब ४९ अर्ब, गतवर्षको तुलनामा ३७% वृद्धि

१९ चैत, काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ८ महिनामा कुल १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशत बढी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार, फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको फागुनमा यो रकम १ खर्ब ५१ अर्ब रुपैयाँ थियो। खाडी मुलुकमा देखिएको तनावका बावजुद फागुनको रेमिट्यान्स सामान्य देखिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले वृद्धि भएको छ। साउनदेखि फागुनसम्म अमेरिकी डलरमा १० अर्ब १५ करोड बराबर रकम भित्रिएको छ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ श्रम स्वीकृति भइसकेका थिए।