आर्थिक

इन्धन र खाद्यान्न महँगिए, मुद्रास्फीति ३.६२% पुग्यो

१९ चैत, काठमाडौं । नेपालमा मुद्रास्फीति बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको छ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.३३ प्रतिशत छ। तरकारीको मूल्य ११.४९ प्रतिशत, घिउ तथा तेल ९.८६ प्रतिशत र फलफूल ९.६३ प्रतिशतले बढेको छ। यसै अवधिमा दाल तथा गेडागुडी ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ २.१८ प्रतिशत र मरमसलामा २.०३ प्रतिशतले गिरावट आएको छ।

गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा २२.८१%, शिक्षा ७.४६%, मदिराजन्य पेय पदार्थ ७७%, कपडा तथा जुत्ता ४.७३% र सुर्तीजन्य पदार्थ ३.५७% ले वृद्धि देखाएको छ। बीमा तथा वित्तीय सेवामा भने ०.०३% घटेको छ।

प्रदेशगत विश्लेषण अनुसार मधेसमा मुद्रास्फीति सबैभन्दा बढी ४.९५% देखिएको छ। अन्य प्रदेशहरूमा कोशी ३.९६%, बागमती ३.३१%, गण्डकी २.८७%, लुम्बिनी ४.२१%, कर्णाली २.२१% र सुदूरपश्चिम २.२५% रहेको छ। ग्रामीण क्षेत्रको मुद्रास्फीति ३.०६% र सहरी क्षेत्र ३.८२% पुगेको छ।

विशेषज्ञहरूले इन्धनको मूल्य वृद्धि र खाद्यान्न महँगीले सर्वसाधारणको जीवनयापनमा असर पार्न सक्ने चेतावनी दिएका छन्।