आर्थिक

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति : मुलुकले २१ महिनासम्म आयात धान्न सक्ने

१९ चैत, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको जानकारी दिएको छ। यसले हालकै आयातलाई आधार मान्दा २१.४ महिनासम्म वस्तु आयात र १८.५ महिनासम्म वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बताइएको छ।

राष्ट्र बैंकका अनुसार फागुनसम्म मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा २७.५ प्रतिशतले वृद्धि भएको छ। गत असारमा विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा सञ्चिति ८ महिनामा १८.३ प्रतिशतले बढेर हाल २३ अर्ब ८ करोड डलर पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

विशेषज्ञहरूले विदेशी मुद्रा सञ्चितिको यो वृद्धि मुलुकको आयात सुरक्षा र आर्थिक स्थिरताका लागि सकारात्मक संकेत भएको बताएका छन्।