अपराध

कीर्तिपुर हत्या प्रकरणमा तीन पक्राउ, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

२४ वैशाख, काठमाडौं । कीर्तिपुरमा बुधबार दिउँसै युवक हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्दै आएका २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल क्षेत्रमा बस्दै आएका २२ वर्षीय रोशन बिष्ट रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बुधबार दिउँसो करिब साढे २ बजे कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। मृतक घिमिरे गुल्मी धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पामा बस्दै आएका थिए।

घटनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।