समाचार

अब सुकुमवासीले लालपुर्जा पाउने, सरकारको नयाँ समयसीमा सार्वजनिक

३ असार, काठमाडौं । सरकारले आगामी असारको तेस्रो सातादेखि भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गर्ने घोषणा गरेको छ। लामो समयदेखि प्रतिक्षामा रहेका सुकुमवासीका लागि सरकारले औपचारिक रूपमा वितरण प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु हुने जानकारी दिइन्।

सांसद हर्क साम्पाङले काठमाडौंलगायत विभिन्न स्थानका सुकुमवासीको व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था तथा लालपुर्जा वितरणबारे सरकारको योजना के हो भन्ने प्रश्न उठाएका थिए। उनले व्यवस्थापन गर्न नसकिने अवस्थामा सुकुमवासीलाई पहिले बसोबास गर्दै आएको स्थानमै व्यवस्थित गर्नुपर्ने धारणा पनि राखेका थिए।

जवाफमा मन्त्री रावलले सरकारले लालपुर्जा वितरणको तयारी पूरा गरिसकेको बताउँदै अब वितरणको काम औपचारिक रूपमा सुरु हुने स्पष्ट पारिन्। उनका अनुसार, “लालपुर्जाको हकमा आवश्यक तयारी भइसकेको छ। असारको तेस्रो सातादेखि वितरण प्रक्रिया सुरु हुनेछ।”

यसअघि सरकारले राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन तथा सुकुमवासीको व्यवस्थापन गर्दै आएको थियो। हाल भने सरकारले नयाँ भूमि सम्बन्धी समिति गठन गरी भूमिहीन सुकुमवासीको व्यवस्थापन र लालपुर्जा वितरणको कामलाई अघि बढाइरहेको जनाएको छ।