समाचार

जेलबाट फरार वन्यजन्तु तस्करी मुद्दाका थुनुवा एक वर्षपछि पक्राउ

३ असार, काठमाडौं । केन्द्रीय कारागारबाट फरार भएका अवैध वन्यजन्तु तस्करी मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार रसुवा उत्तरगया गाउँपालिका–९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्दै आएका ३८ वर्षीय टेकबहादुर तामाङलाई काठमाडौंको जरङ्खुबाट पक्राउ गरिएको हो ।

तामाङविरुद्ध संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला अवैध रूपमा ओसारपसार तथा खरिद–बिक्री गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि उनी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा रहेका थिए।

तर, २०८२ भदौ २४ गते भएको ‘Gen-Z आन्दोलन’ का क्रममा कारागारबाट भागेर फरार भएका तामाङ लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए।

प्रहरीले विशेष खोजतलास अभियान सञ्चालन गर्ने क्रममा २०८३ असार २ गते काठमाडौंको तारकेश्वर–८ स्थित जरङ्खुबाट उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउपछि तामाङलाई पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको प्रहरीले जनाएको छ।