४ असार, काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सम्बन्धित बजेट पुस्तिकामा हिसाब नमिलेको विषय संसद्मै स्वीकार गरेका छन्। यद्यपि उनले यो त्रुटिले कुल विनियोजित बजेट रकममा कुनै असर नपरेको स्पष्ट पारे।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS) मा रहेको एक्सेल फाइलका केही ‘रो’ लुकाइएकाले (हाइड हुँदा) विकास कार्यक्रम पुस्तिकामा विवरण छुट्न गएको बताए।
उनका अनुसार सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगत बजेटसम्बन्धी केही विवरण प्रकाशन गरिएको पुस्तिकामा नदेखिँदा हिसाब फरक परेको हो। तर यो केवल प्राविधिक वा प्रकाशनसम्बन्धी त्रुटि भएकाले कुल बजेट रकममा कुनै अन्तर नपरेको उनले दाबी गरे।
यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले बजेट पुस्तिकाका विभिन्न पानामा रकमको जोडघटाउ नमिलेको विषय संसद्मा उठाएका थिए। उनले पुँजीगत र चालु खर्चका शीर्षकमा प्रकाशित कुल रकम र वास्तविक जोडबीच अन्तर देखिएको भन्दै यो सामान्य त्रुटि मात्र हो कि नियतवश भएको हो भन्ने प्रश्न गरेका थिए।
साम्पाङले बजेटको अंकगणितमै त्रुटि देखिनु गम्भीर विषय भएको उल्लेख गर्दै, “एकमा एक जोड्दा दुई हुनुपर्नेमा तीन देखिने अवस्था स्वीकार्य हुन सक्दैन” भन्दै सरकारसँग स्पष्ट जवाफ मागेका थिए।
अर्थमन्त्रीले भने प्रकाशित पुस्तिकामा प्राविधिक कारणले त्रुटि देखिए पनि सरकारको कुल बजेट विनियोजन र वित्तीय हिसाबमा कुनै परिवर्तन नभएको दोहोर्याएका छन्।





