ब्रेकिङ न्युज

मलमा कालोबजारी देख्नुभयो ? अब मन्त्रालयलाई सिधै फोन गर्नुस्

४ असार, काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मलको आपूर्ति तथा वितरणलाई व्यवस्थित बनाउन कृषि, वन तथा पर्यावरण मन्त्रालयले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले मलको अभाव, कालोबजारी, कृत्रिम अभाव सिर्जना, वितरणमा अनियमितता तथा अन्य गुनासो दर्ताका लागि ९७०००९९११३ नम्बर सार्वजनिक गरेको हो। किसान तथा सरोकारवालाले हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उक्त नम्बरमा सम्पर्क गरेर जानकारी वा उजुरी दिन सक्नेछन्।

मन्त्रालयले गुनासो व्यवस्थापनलाई थप सहज र प्रभावकारी बनाउन क्यूआर कोडमार्फत पनि उजुरी दर्ता गर्ने व्यवस्था गरेको जनाएको छ। सेवाग्राहीले क्यूआर कोड स्क्यान गरी आफ्नो गुनासो, सुझाव वा जानकारी सिधै मन्त्रालयमा पठाउन सक्नेछन्।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धान रोपाइँको समयमा रासायनिक मलको माग उच्च हुने भएकाले आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन हटलाइन सेवा सञ्चालन गरिएको बताइन्।

मन्त्रालयका अनुसार प्राप्त हुने गुनासो र सूचनाका आधारमा अनियमितता, कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि निगरानी बढाइने र आवश्यक कारबाही अघि बढाइनेछ।