ब्रेकिङ न्युज

जावलाखेलमा भोटो प्रदर्शन, राष्ट्रपति–प्रधानमन्त्रीको उपस्थिति!

६ असार, काठमाडौं । ललितपुरको जावलाखेलमा आइतबार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिहरूले परम्परागत रूपमा बहुमूल्य रत्न जडित भोटो सार्वजनिक रूपमा प्रदर्शन गरेका थिए।

कार्यक्रम अवलोकन गर्न जावलाखेल क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारणको भीड लागेको थियो। परम्पराअनुसार यस अवसरमा राष्ट्रप्रमुखले भोटो अवलोकन गर्ने चलन रहेको छ। सोही क्रममा राष्ट्रपति पौडेलसँगै अन्य विशिष्ट व्यक्तिहरूले कुमारीबाट टीका र प्रसाद ग्रहण गरेका थिए।

सोही जात्रामा प्रधानमन्त्री बालेन शाह पनि सहभागी भएका थिए। रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने परम्परा पूरा गरिँदै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन गरिएको हो। त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर बुङमतीतर्फ लगिएको थियो।

भोटो देखाउने परम्परासँग जोडिएको लोककथाअनुसार, एक समय भोटोको स्वामित्वलाई लिएर विवाद भएपछि प्रमाणसहित दाबी पेश गर्न सार्वजनिक रूपमा भोटो प्रदर्शन गर्ने चलन सुरु भएको मानिन्छ। वास्तविक हकदार नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने विश्वास रहिआएको छ।