बैंकिङ

नेपाल बैंक एनपीएस–एनसीएसमा आबद्ध, नेपालपे कार्ड जारी गर्ने सम्झौता

१९ असार, काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच (एनपीएस–एनसीएस) अन्तर्गत नेपालपे कार्ड स्विच तथा प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै नेपाल बैंकले आफ्नो कार्ड स्विचलाई एनपीएस–एनसीएससँग एकीकृत गरेपछि आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न र उक्त कार्डमार्फत हुने कारोबार स्वीकार (एक्वायरिङ) गर्न सक्नेछ।

एनसीएचएलका अनुसार नेपालपे कार्डको व्यावसायिक सञ्चालन सुरु भइसकेको छ। अन्तर्राष्ट्रिय कार्ड नेटवर्क डिस्कभरसँगको सहकार्यपछि नेपालपे कार्ड नेपालभित्र मात्र नभई विदेशका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै, डिस्कभर समूह अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ।

एनपीएस–एनसीएसले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै स्वदेशभित्र हुने कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि केन्द्रीय कार्ड स्विचको रूपमा काम गर्नेछ। यसबाट कार्ड कारोबारको लागत घट्ने, डाटा नेपालमै सुरक्षित रहने तथा डिजिटल भुक्तानी प्रणालीको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

हालसम्म एनपीएस–एनसीएसमा ३५ वटा बैंक तथा वित्तीय संस्था प्रिन्सिपल मेम्बरका रूपमा आबद्ध भइसकेका छन्। त्यसमध्ये सात बैंकले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० बैंकले कार्ड एक्वायरिङ सेवा सञ्चालन गरिरहेका छन्।

नेपाल बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आन्तरिक प्रणाली आधुनिकीकरण र ग्राहक सेवामा सुधार गर्दै आएको जनाएको छ।