ब्रेकिङ न्युज

कांग्रेसमा ‘एकता महाधिवेशन’को सम्भावना कमजोर, संस्थापनइतर पक्षको निष्कर्ष

१९ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशन ‘एकता महाधिवेशन’का रूपमा सम्पन्न हुने सम्भावना क्रमशः कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ।

शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकताप्रति पर्याप्त इच्छुक नदेखिएको निष्कर्ष निकालेको हो।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले वर्तमान परिस्थितिमा एकता महाधिवेशनको सम्भावना क्षीण बन्दै गएको बताए। यद्यपि, उनले संवाद र सहमतिमार्फत समाधान खोज्ने सम्भावना अझै पूर्ण रूपमा समाप्त नभएको उल्लेख गरे।

नेता डा. प्रकाशशरण महतले पनि संस्थापन पक्षले छलफलमा सकारात्मक संकेत दिए पनि व्यवहारमा त्यस अनुसार अघि नबढेको आरोप लगाए। उनका अनुसार यही कारणले पार्टीभित्र बृहत्तर एकताको वातावरण कमजोर बनेको छ।

बैठकमा नेता डा. शेखर कोइरालासँग पनि यस विषयमा निरन्तर परामर्श भइरहेको जानकारी दिइएको छ। संस्थापनइतर पक्षले देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै पार्टीभित्र व्यापक एकता आवश्यक रहेको दोहोर्‍याएको छ।

यद्यपि, नेतृत्व पक्षबाट त्यस अनुसारको पहल नदेखिए महाधिवेशनअघि पार्टी एकता अझ जटिल बन्न सक्ने संस्थापनइतर पक्षको निष्कर्ष छ।