ब्रेकिङ न्युज

१०० दिनमै सुशासनको जग बसाल्न सरकार सफल भएको रवि लामिछानेको दाबी

१९ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको पहिलो १०० दिन जनअपेक्षा सम्बोधन गर्दै सुशासनको आधार निर्माण गर्न सफल भएको दाबी गरेका छन्।

शुक्रबार पार्टीका सांसदलाई लक्षित गरी आयोजित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म तथा साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको बताए।

उनले विकास निर्माण र दीर्घकालीन महत्त्वका योजनाको प्रभाव तत्काल नदेखिए पनि समयसँगै त्यसको परिणाम स्पष्ट हुने उल्लेख गरे।

लामिछानेका अनुसार सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेकाले सर्वसाधारणले सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरणको सुरुआत भएको छ।

उनले सरकारको प्रारम्भिक कार्यसम्पादन सकारात्मक र जनहितमुखी रहेको दाबी गर्दै नागरिकका सुझावलाई आत्मसात् गर्दै सरकार अझ परिपक्व ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे।