१९ असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले ‘अनलाइन कर्जा आवेदन’ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकारको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनालाई कार्यान्वयन गर्दै कर्जा आवेदन प्रक्रियालाई डिजिटल माध्यममा रूपान्तरण गरिएको हो।
यस सेवामार्फत ग्राहकले बैंकमा धाइरहनुपर्ने आवश्यकता बिना घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्। आवेदनका लागि आवश्यक विवरण भर्नुका साथै आवश्यक कागजात पेश गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, आवेदन दर्ता भएपछि ग्राहकले आफ्नो कर्जा आवेदनको अवस्था पनि अनलाइनमार्फत नै हेर्न सक्ने सुविधा उपलब्ध गराइएको छ। यसले कर्जा प्रक्रियालाई थप छिटो, झन्झटरहित र पारदर्शी बनाउने बैंकको विश्वास छ।
बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमार्फत ‘अनलाइन कर्जा आवेदन’ पोर्टलमा प्रवेश गरी प्रयोगकर्ता दर्ता गरेपछि आवश्यक विवरण भरेर आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्। सेवालाई अझ सहज बनाउन क्यूआर कोडको व्यवस्था पनि गरिएको छ।
बैंकले आम नागरिक, व्यवसायी तथा सरोकारवालालाई यस डिजिटल सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका ७७ वटै जिल्ला समेट्ने गरी ३१६ शाखामार्फत निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङ तथा अन्य डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।





