सुदूरपश्चिम

बझाङमा ४२ वर्षीय पुरुषको हत्या, ६ जना अनुसन्धानको घेरामा

२१ असार, धनगढी। बझाङमा आपसी विवादका क्रममा एक पुरुषको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्लाको केदारस्युँ गाउँपालिका–६, त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहरा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले उनको शव मकैबारीमा फालिएको अवस्थामा बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार शुक्रबार साँझ भएको आपसी विवादपछि बोहराको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धान सम्पन्न भएपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने डीएसपी जोराले जानकारी दिए।