२१ असार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने नेपाली श्रमिकका लागि प्रस्ताव गरिएको Skill Verification Program (SVP) तत्काल स्थगन गर्न माग गर्दै हालको स्वरूपमा उक्त कार्यक्रम स्वीकार्य नहुने स्पष्ट पारेको छ।
संघले आइतबार जारी गरेको विज्ञप्तिमा SVP लागू गर्दा नेपाली श्रमिकमाथि अनावश्यक आर्थिक भार, अतिरिक्त झन्झट तथा सीमित निजी संस्थामार्फत सेवा सञ्चालन गरी एकाधिकार सिर्जना हुने जोखिम रहेको उल्लेख गरेको छ। यस्तो व्यवस्था नेपाल–साउदीबीचको श्रम सम्झौताभन्दा बाहिर रहेको र सरोकारवालासँग पर्याप्त छलफल नगरी अघि बढाइएको भन्दै संघले असन्तुष्टि जनाएको छ।
संघका अनुसार साउदी दूतावासले परीक्षण शुल्क रोजगारदाताले व्यहोर्ने बताए पनि व्यवहारमा त्यसको आर्थिक भार अन्ततः श्रमिककै काँधमा पर्ने सम्भावना उच्च छ। अहिले नै बायोमेट्रिक, भिसा स्ट्याम्पिङ, अपोइन्टमेन्टलगायत विभिन्न शीर्षकमा श्रमिकबाट रकम असुल भइरहेको अवस्थामा थप परीक्षणको नाममा नयाँ खर्च थोपर्नु अन्यायपूर्ण हुने संघको भनाइ छ।
व्यवसायीहरूले यदि साउदीलाई दक्ष श्रमिक आवश्यक हो भने आफ्नै लगानीमा निःशुल्क तालिम, परीक्षण र प्रमाणपत्रको व्यवस्था गर्न वा नेपाल सरकारसँगको सहकार्यमा श्रमिकलाई कुनै अतिरिक्त आर्थिक भार नपर्ने प्रणाली विकास गर्न आग्रह गरेका छन्।
संघले नेपाल सरकार, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित साउदी दूतावास तथा साउदी सरकारसँग SVP कार्यान्वयन तत्काल रोक्दै व्यापक परामर्श र पुनरावलोकन गर्न अनुरोध गरेको छ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने, आवश्यक परे साउदी अरबमा नेपाली श्रमिक पठाउने प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्नेसम्मका कदम चाल्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ।





