अन्तर्राष्ट्रिय

होर्मुज जलमार्गमा तेल ट्यांकरमाथि आक्रमण

२३ असार, काठमाडौं । होर्मुज जलमार्गनजिक एउटा तेल ट्यांकरमाथि अज्ञात वस्तु वा क्षेप्यास्त्र प्रहार भएको छ ।

बेलायती जलसेनाअन्तर्गतको समुद्री सुरक्षा निकाय ‘यूके म्यारिटाइम ट्रेड अपरेसन्स’ (यूकेएमटीओ)ले आज बिहान यस घटनाको पुष्टि गरेको हो ।

यूकेएमटीओका अनुसार दक्षिणतर्फ गइरहेको उक्त तेल ट्यांकरको देब्रे भागमा अज्ञात वस्तुले प्रहार गरेपछि जहाजमा आगलागी भएको थियो ।

यद्यपि, घटनामा जहाजमा सवार कोही पनि हताहत भएका छैनन् । समुद्रमा तेल चुहावट वा अन्य कुनै वातावरणीय क्षति भएको विवरण पनि प्राप्त नभएको यूकेएमटीओले जनाएको छ । घटनाबारे सम्बन्धित समुद्री सुरक्षा निकायहरूले थप अनुसन्धान गरिरहेका छन् ।

ओमानको लिमाह क्षेत्रको पूर्वतर्फ भएको यो आक्रमणलाई अमेरिका–इरानबीच बढ्दो सैन्य तनावको पृष्ठभूमिसँग जोडेर हेरिएको छ ।

होर्मुज जलमार्ग विश्वकै सबैभन्दा संवेदनशील सामुद्रिक मार्गमध्ये एक हो । विश्वको कुल समुद्री तेल निर्यातको करिब २० प्रतिशत यही जलमार्ग हुँदै हुने भएकाले यस क्षेत्रमा हुने कुनै पनि सुरक्षा घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।