२३ असार, काठमाडौँ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षभन्दा बढी समययताकै उच्चस्तरमा पुगेको छ । विश्लेषकले सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि व्यवसायहरूले आयात बढाएको हुन सक्ने बताएका छन् । अमेरिकी वाणिज्य विभागका अनुसार मे महिनामा व्यापार घाटा अघिल्लो महिनाको तुलनामा ४२ दशमलव दुई प्रतिशतले बढेर ७७ दशमलव छ अर्ब अमेरिकी डलर पुगेको छ ।
मे महिनामा आयात तीन दशमलव तीन प्रतिशतले बढेर ३९५ दशमलव तीन अर्ब डलर पुगेको छ भने निर्यात तीन दशमलव दुई प्रतिशतले घटेर ३१७ दशमलव सात अर्ब डलरमा सीमित भएको छ । विश्लेषकका अनुसार कम्प्युटर उपकरण, सेमिकन्डक्टर तथा कृत्रिम बुद्धिमत्ता (एआइ)सम्बन्धी हार्डवेयरको माग बढेसँगै पुँजीगत वस्तुको आयात उल्लेख्य रूपमा बढेको छ ।
उपभोक्ता वस्तुमध्ये औषधिजन्य सामग्रीको आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ । अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री ग्रेस ज्विमरका अनुसार जुलाई अन्त्यदेखि लागू हुने प्रस्तावित उच्च भन्सार महसुलबाट बच्न व्यवसायीले औषधिजन्य सामग्रीको आयात अग्रिम रूपमा बढाएको हुन सक्छ । विश्लेषकले अमेरिकी घरेलु माग बलियो रहेकाले पनि आयात वृद्धि भएको जनाएका छन् ।
साथै, सम्भावित ट्यारिफ वृद्धिअघि नै सामान भित्र्याउने व्यवसायको रणनीतिले पनि व्यापार घाटा बढाउन योगदान दिएको उनीहरूको भनाइ छ । यसैबीच, मध्यपूर्वमा उत्पन्न तनावका क्रममा अमेरिकी कच्चा तेल तथा पेट्रोलियम पदार्थको निर्यात बढेको थियो । अमेरिका र इरानबीचको समझदारीपछि होर्मुज जलसन्धिमा ढुवानी क्रमशः सामान्य बन्दै जाँदा पेट्रोलियम निर्यात पनि युद्धपूर्वको अवस्थातर्फ फर्किन थालेको विश्लेषकहरूले बताएका छन् ।





